डडेल्धुरामा ट्र्याक्टर–मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु
डडेल्धुरा,पुस २७। डडेल्धुराको परशुराम नगरपालिका–९ कुयापानीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।शनिबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक परशुराम नगरपालिका–१२ निवासी २७ वर्षीय नवीन साउद र पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको ज्यान गएको हो।
जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनापछि ट्र्याक्टर चालक परशुराम नगरपालिका निवासी ३२ वर्षीय सुरेश भट्ट फरार रहेका छन्। उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

