देवीघाटस्थित पृथ्वी स्मारकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक
नुवाकट,पुस २७। नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित पृथ्वी स्मारकमा आधुनिक नेपालको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक रहेको छ। ऐतिहासिक तथा राष्ट्रिय महत्व बोकेको उक्त स्मारकमा राखिएको शालिकले राष्ट्रनिर्माताको योगदान र स्मृतिलाई जीवन्त बनाउँदै आएको छ।
विसं १७७९ पुस २७ गते जन्मनु भएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँकै नेतृत्वमा विभिन्न साना–साना राज्यहरू एकीकृत भई आधुनिक नेपालको जग बसालिएको इतिहास छ।
राष्ट्रनिर्माता शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटकै देवीघाटमा भएको थियो। त्यसैले देवीघाटलाई ऐतिहासिक स्थलका रूपमा लिइँदै आएको छ। यहाँ अवस्थित पृथ्वी स्मारक र शालिक राष्ट्रिय एकता, स्वाधीनता र इतिहासप्रति सम्मान व्यक्त गर्ने प्रतीकका रूपमा रहेको छ।

