नुवाकोट वर्सुन्चेतका विद्यार्थीलाई कलाकार ‘धतुरे’को न्यानोकपडा  सहयोग



नुवाकोट, पुस २७। नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिका–१ वर्सुन्चेतका विद्यार्थीहरूलाई न्यानो कपडा, जुत्ता, मोजा तथा टोपी वितरण गरिएको छ। जाडोको मौसममा गरिएको उक्त सहयोगले विद्यार्थीहरू अध्ययनप्रति थप उत्साहित भएका छन्।

भौगोलिक रूपमा दुर्गम तथा कोल्टे क्षेत्रमा रहेको वर्सुन्चेतस्थित सीता आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई चर्चित कलाकार सीपी पुडासैनी ‘धतुरे’ले न्यानो पोशाक वितरण गर्नुभएको हो। उहाँले आफ्नो ४५औँ जन्मदिनको अवसर पारेर ४२ जना विद्यार्थीलाई एक–एक थान ट्रयाकसुट उपलब्ध गराउनुभएको हो।

यसैगरी, म्यागङ गाउँपालिका घर भई बट्टारबजारमा व्यवसाय गर्दै आएकी महिला अगुवा सन्तुमाया तामाङले विद्यालयका सबै विद्यार्थीका लागि एक–एक जोर जुत्ता र मोजा तथा एक–एक थान न्यानो टोपी सहयोग गर्नुभएको छ। उहाँले सानो सहयोगले पनि विद्यार्थीहरूलाई जाडोमा सहज हुने भन्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो।

कलाकार सीपी पुडासैनी ‘धतुरे’ले विगत सात वर्षदेखि आफ्नो जन्मदिन विद्यालयमै पुगेर विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री सहयोग गर्दै आएको जानकारी दिनुभयो। जन्मदिनलाई महँगो खर्चमा मनाउने प्रवृत्तिको अन्त्य गर्दै दुर्गम क्षेत्रका विद्यार्थीको शैक्षिक स्तर उकास्न जन्मदिन खर्च कटाएर सहयोग गर्दै आएको उहाँको भनाइ छ। “परिवर्तन आफैँबाट गरौँ” भन्ने मूल उद्देश्यका साथ ‘सबैको लागि म’ अभियान सञ्चालन गर्दै आएको पनि उहाँले बताउनुभयो।

विद्यालयमै आयोजित कार्यक्रममा म्यागङ गाउँपालिका अध्यक्ष आशावहादुर तामाङ, वडा नं. १ का वडाध्यक्ष जीमावहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर घले, प्रधानाध्यापक कुमार सिम्खडा, सामाजिक अगुवा, शिक्षक–शिक्षिका तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सामूहिक रूपमा विद्यार्थीहरूलाई न्यानो पोशाक, जुत्ता र मोजा हस्तान्तरण गरिएको थियो।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष आशावहादुर तामाङले शिक्षामा गुणस्तर, आधुनिकता र प्रविधिको समिश्रण आवश्यक रहेको बताउँदै सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षण बढाउन यस्ता सामाजिक पहल महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। वर्सुन्चेतस्थित विद्यालयमा मुख्यतया तामाङ तथा घले समुदायका बालबालिकाहरू अध्ययनरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्