कांग्रेस विशेष महाधिवेशन स्थलमा पूर्व सभापतिहरूको मस्कट, भृकुटीमण्डपमा चहलपहल बढ्दो
काठमाडौं,पुस २७। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा पार्टीका पूर्व सभापतिहरूको मस्कट राखिएको छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा कांग्रेसका पूर्व सभापति विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाको मस्कट राखिएको हो।
विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराउने क्रम यतिखेर जारी छ। उपत्यकाका विभिन्न स्थानबाट बाजागाजासहित झाँकी र जुलुशसहित प्रतिनिधिहरू महाधिवेशन स्थलतर्फ आउने क्रम पनि बढ्दो छ।
यद्यपि विशेष महाधिवेशनको आवश्यकताबारे कांग्रेसभित्र व्यापक विवाद देखिएको छ। संस्थापन पक्षले विशेष महाधिवेशन जरुरी नभएको भन्दै विरोध जनाइरहेका बेला कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पक्षधरको नेतृत्व गरिरहेका छन्।
पार्टीभित्रको आन्तरिक मतभेदका बीच सञ्चालन हुन लागेको विशेष महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

