कांग्रेस विशेष महाधिवेशन सुरु, भृकुटीमण्डपमा नाम दर्ताको चहलपहल



काठमाडौं,पुस १७। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुईदिने महाधिवेशनको पहिलो दिन आज आठ वटा स्टलमार्फत नाम दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ। बिहान ८ बजेदेखि दर्ता सुरु गर्ने भनिए पनि प्राविधिक व्यवस्थाका कारण बिहान ९ बजेदेखि मात्र प्रक्रिया सुरु भएको थियो।

विशेष महाधिवेशन जिल्ला क्षेत्र तथा ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार दिउँसो १२ः४५ बजेसम्म एक हजार २१५ जना महाधिवेशन प्रतिनिधिको नाम दर्ता भइसकेको छ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुरका लागि एक स्टल तथा बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ। कांग्रेसमा देशभर कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्।

विशेष महाधिवेशनको उद्घाटनअघि सहभागीहरूले काठमाडौंका विभिन्न छ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्। महाधिवेशन आयोजक समितिका अनुसार आज दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ। उद्घाटन सत्रपछि भृकुटीमण्डपस्थित सभाहलमा बन्दसत्र सञ्चालन हुने संयोजक पाण्डेयले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्