लाङटाङ–मुन्डुमा पहिलोपटक स्याउ खेती परीक्षण, ३५ सय मिटर उचाइमा रोपियो
रसुवा,पुस २७। गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्ने लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउ खेतीको परीक्षण सुरु गरिएको छ। समुद्र सतहबाट करिब ३ हजार ५०० मिटर उचाइमा स्याउ खेती सुरु भएसँगै उच्च हिमाली भेगमा नयाँ कृषि सम्भावनाको ढोका खुलेको स्थानीयले बताएका छन्।
स्थानीय फिन्जो तामाङका अनुसार नमुनाका रूपमा विभिन्न जातका स्याउका बिरुवा रोपेर परीक्षण सुरु गरिएको हो। यसअघि एक–दुई वटा बिरुवा रोपिएको भए पनि यसरी व्यवस्थित र ठूलो संख्यामा परीक्षण पहिलो पटक गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार रेड डेलिसियस, रोयल डेलिसियस र फुजी जातका गरी ४८ वटा स्याउका बिरुवा रोपिएको छ। समग्रमा गाउँमा हालसम्म करिब ३ सय वटा स्याउका बिरुवा रोपिसकिएको छ।
स्याउ खेती परीक्षणलाई व्यवस्थित बनाउन २० वटा ग्रीन हाउस निर्माण गरिएको छ भने परीक्षणका लागि जम्मा १३ प्रजातिका स्याउ रोपिएको स्थानीयले बताएका छन्।
उच्च हिमाली क्षेत्रमा स्याउ खेती सफल भएमा स्थानीयको आयआर्जन बढ्नुका साथै वैकल्पिक कृषि विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

