सन्धिखर्कमा सातौँ अर्घाखाँची महोत्सव सुरु, माघ ११ सम्म सञ्चालन



अर्घाखाँची,पुस २७। अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला सुरु भएको छ। अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्क–कुँडुले फाँटमा माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको आज औपचारिक उद्घाटन गरिएको हो।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो।

महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री दिनेश पन्थीले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै किसान र व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।

आयोजकका अनुसार करिब ३ सय स्टल रहने मेलामा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

चेम्बरका सचिव प्रेम थापाका अनुसार जिल्लामा उत्पादन भएका रैथाने खाना, फलफूल तथा अन्य कृषि उपजको बिक्री वितरण, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार तथा घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्