पार्टी सदस्य हेप्ने राजनीति भत्कियो, अब काँग्रेस जिउँदा मानिसहरूको पार्टी: गगन थापा



काठमाडौँ, पुस २७। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने शैली अब अन्त्य भएको बताएका छन्। काठमाडौँमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले विशेष महाधिवेशन कोही बन्ने–नबन्ने विषय नभई पार्टीभित्रको संघर्ष र परिवर्तनसँग जोडिएको विषय भएको बताए। विशेष महाधिवेशन आफूहरूको चाहनाले नभई महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार आह्वान गरिएको स्पष्ट पार्दै बन्दसत्रले जे निष्कर्ष निकाल्छ, त्यो आफूलाई स्वीकार्य हुने उल्लेख गरे।

महामन्त्री थापाले काँग्रेसलाई ‘लासहरूको पार्टी’ होइन, जिउँदा र सचेत मानिसहरूको पार्टीका रूपमा स्थापित भएको टिप्पणी गरे। उनले भने, “लामो समयदेखि पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्किएको छ। अब कसैले पनि पार्टीका सदस्यलाई हेप्न सक्दैन। यो संघर्ष पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको हो। तपाईंहरूले नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग गर्नुभएको छ। भोलि बन्दसत्रले जे निर्णय गर्छ, त्यो मेरा लागि स्वीकार्य छ।”

काँग्रेसमा प्रश्न गर्ने संस्कार नमरेको जिकिर गर्दै थापाले पार्टीभित्र बोल्न नपाइने अवस्था नरहेको र सबैलाई आफ्ना धारणा खुला रूपमा राख्न पाउने अधिकार रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्