कमजोरी सच्याएर नयाँ संकल्पसहित अघि बढ्न विशेष महाधिवेशन: विश्वप्रकाश शर्मा
काठमाडौँ,पुस २७। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले विगतमा गरेका कमजोरी र आन्तरिक समस्याको गम्भीर समीक्षा गर्दै आगामी दिनमा ती कमजोरी नदोहो¥याउने संकल्पका साथ विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्।
काठमाडौँमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पुरानै ढर्राबाट नयाँ यात्रा सम्भव नहुने उल्लेख गर्दै नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ संकल्प लिएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा समेत काँग्रेसको नेतृत्वमा देशमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरे। भदौ २३ र २४ गते भएका घटनालाई अलग–अलग सन्दर्भमा बुझ्नुपर्ने बताउँदै अब मुलुकलाई सद्भाव, सुशासन र समृद्धिको मार्गमा अघि बढाउन आवश्यक रहेको धारणा राखे।
महामन्त्री शर्माले भने, “फागुन २१ गतेको निर्वाचनमा काँग्रेसले गरेका कमजोरी र समस्यालाई पहिचान गरेर आगामी दिनमा त्यस्तो नहोस भन्ने संकल्पका साथ हामीले विशेष महाधिवेशन आह्वान गरेका हौँ।”
उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देशलाई योगदान दिँदै आए पनि सधैं प्रताडना भोग्दै आएका वर्गको सम्मान गर्न र उनीहरूको आवाज स्थापित गर्न विशेष महाधिवेशन महत्वपूर्ण हुने पनि बताए।

