२१ तोपको सलामीसहित विदुरमा भव्य रूपमा मनाइयो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
विदुर, पुस २७। विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ संयोजक रहेको मूल समारोह समितिको आयोजनामा ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा जगमान गुरुङको प्रमुख आतिथ्य रहेको थियो। समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विदुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, कर्मचारी, नगरभित्र क्रियाशील सामाजिक संघ–संस्था, युवा क्लब, समूह, विद्यालय, खेलकुद क्षेत्र, विभिन्न धार्मिक तथा सांस्कृतिक संस्थाहरू, रेडक्रस, स्काउट तथा राष्ट्रिय एकताप्रेमी सरोकारवाला महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहका क्रममा श्री ५ बडामहाराजाधिराज, आधुनिक नेपालको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहदेवज्यूप्रति सम्मान प्रकट गर्दै विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्र भैरवीदेवी मन्दिर परिसर तथा विदुर नगरपालिका–५ स्थित पृथ्वी स्मारक (जालपादेवी मन्दिर परिसर) मा २१ तोपको राष्ट्रनिर्माता सलामी अर्पण गरिएको थियो।
यस अवसरमा र्याली, झाँकी, भजन, पञ्चेबाजा सहितको प्रभातफेरी तथा प्रवचन कार्यक्रम सञ्चालन गरिएको थियो। विविध सांस्कृतिक झलकसहित सम्पन्न कार्यक्रमले राष्ट्रिय एकता, देशभक्ति र ऐतिहासिक चेतनालाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ।
विदुर नगरपालिकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई हरेक वर्ष अझ व्यवस्थित र प्रभावकारी रूपमा मनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

