जनज्ञान माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
नुवाकोट,पुस २८। जिल्लाको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, शिवपुरी गाउँपालिका–८ का वडाध्यक्ष केशवप्रसाद रिजाल तथा जनज्ञान निकेतन माध्यमिक विद्यालयका संस्थापक बाबुकाजी पाठक विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साथै खेलकुद, अनुशासन तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। विद्यालयको विकासमा सहयोग पुर्याउने चन्दादाताहरूलाई सम्मान गर्नुका साथै कर्तव्यनिष्ठ शिक्षक तथा कर्मचारीलाई पनि विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जग्गादाता, चन्दादाता, विद्यालय व्यवस्थापन समिति तथा पूर्व व्यवस्थापन समिति सदस्य, पूर्व प्रधानाध्यापक, शिक्षक अभिभावक संघका पदाधिकारी, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समिति सदस्य, समाजसेवी, बुद्धिजीवी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी, विद्यार्थी, शिक्षाप्रेमी तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।विद्यालय परिवारले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

