पार्टी भित्र कोही मालिक र दास छैन-महामन्त्री थापा



काठमाडौं,पुस २८ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र कोही मालिक र दास नरहेको भन्दै कार्यकर्ताको भावनाको सम्मान गर्नुपर्ने बताउनु भएको छ ।

विशेष महाधिवेशनलाई आइतबार साँझ सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र कोही मालिक र दास नरहने भन्दै यदि अवस्था रहेको भएपनि विशेष अधिवेशनसँगै त्यो भत्किएको बताउनु भएको हो ।

“कांग्रेस दास र लाशहरुको पार्टी होइन । कांग्रेसमा प्रश्न मरेको छैन । यहाँ कोही बा छैन नबोल भन्दा बोल्न छाड्ने छैन । पार्टीभित्र कोही मालिक र दास छैन । थियो भने पनि आजबाट भत्कियो । भोलि जो आए पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । तल बस्नेलाई माथि बस्नेले निहुरिएर जय नेपाल गर्नुपर्छ ।”

विशेष महाधिवेशनले के निर्णय गर्छ भन्ने बारेमा आफूलाई केही थाहा नभएको बताउनु हुँदै थापाले उक्त निर्णय आफुलाई स्वीकार्य भएको बताउनु भयो ।

थापाले विशेष महाधिवेशनको उद्घाटनमा सभापति शेरबहादुर देउवालाई ल्याउने प्रयास गरेको भए पनि सम्भव नभएको बताउनु भयो ।

उहाँले आफूहरूले शक्ति र पार्टीभित्रको सत्ताको सङ्घर्ष नगरेको बताउनुहुँदै  यो विचार, मूल्य र मान्यताको सङ्घर्ष रहेको  भन्दै यो विशेष महाधिवेशनलाई नाम मात्रै विशेष होइन विशेष बनाएर छाड्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्