नुवाकोटमा माघ १ गते भाले जुधाइँ प्रतियोगिता हुने
नुवाकोट,पुस २८। जिल्लाको पञ्चकन्या गाउँपालिका–३ तिनघरेमा भाले जुधाइँ (Cock Fight) कार्यक्रम आयोजना हुने भएको छ।
नेपाली कम्युनिस्ट पार्टी तिनघरे टोल समितिका संयोजक भगवान थापा र पञ्चकन्या अर्गानिक फार्म हाउसकी सञ्चालक सरिता थापाको संयुक्त आयोजनामा उक्त कार्यक्रम माघ १ गते हुने भएको हो ।
आयोजकका अनुसार पञ्चकन्याको ऐतिहासिक गोरु जुधाइँ कार्यक्रमका सुरुवातकर्ता तथा पूर्व गाउँ विकास समिति अध्यक्ष, हाल नेपाल कम्युनिस्ट पार्टी प्रदेश समिति सदस्य राम थापाको सल्लाहअनुसार कार्यक्रम तय गरिएको हो। प्रतियोगितामा १० जोडी भालेले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला पाठक प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ। स्थानीयवासी, शुभचिन्तक तथा इष्टमित्रलाई सहभागिताका लागि आह्वान गरिएको आयोजक पक्षको भनाइ छ।
कार्यक्रम तिनघरेस्थित वडा नं. ३ मा दिउँसो १२ बजेदेखि सुरु हुने जनाइएको छ। यद्यपि, भाले जुधाइँजस्ता गतिविधि पशु अधिकार र कानुनी प्रावधानसँग जोडिने विषय भएकाले यसबारे स्थानीय तह र सरोकारवालाहरूबीच चासो र बहस पनि सुरु भएको छ। सम्बन्धित निकायले आवश्यक अनुगमन र कानुनी पक्षको अध्ययन गर्ने संकेत गरेका छन्।


