बैतडीमा बोलेरो जिप भीरबाट खस्यो, तीन जनाको घटनास्थलमै मृत्यु, सबै यात्रु घाइते



बैतडी,पुस २८। बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने जिपमा सवार अन्य सबै यात्रु घाइते भएका छन्। दुर्घटना जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक सोमबार बिहान भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान करिब साढे १० बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा परी सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–२ का २८ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

जिपमा सवार अन्य सबै यात्रु घाइते भएका छन्। घाइतेहरूको यकिन सङ्ख्या खुल्न बाँकी रहेको र केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा लगिएको छ भने गम्भीर अवस्थाका यात्रुलाई थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको छ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरी टोलीले संयुक्त रूपमा उद्धारकार्य गरेका थिए। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्