भेडेटार चोकमा एम्बुलेन्सभित्र ४६० किलो गाँजा बरामद, चालक फरार
धनकुटा,पुस २८। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
आइतबार साँझ इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्सलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले नरोकी प्रहरी ब्यारिकेट लडाउँदै फरार भएको थियो। त्यसपछि प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै भेडेटार गेट नजिक पुग्दा चालकले सवारी साधन छोडेर फरार भएको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीका अनुसार एम्बुलेन्सभित्र सेतो बोरामा कालो प्लास्टिकले बेरेर प्याक गरिएको १५ वटा पोका लागुऔषध गाँजा फेला परेको छ। बरामद गाँजाको तौल ४५९.९६५ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
गाँजासहित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको र घटनामा संलग्न फरार चालक तथा सवारी धनीको खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

