बैतडी जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
बैतडी,पुस २८। जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।
डडेल्धुरा अस्पतालमा उपचारका क्रममा सिगास गाउँपालिका–१ की २७ वर्षीया वसन्ती ऐरको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिनुभयो।मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप आज बिहान करिब ११ बजे अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा सिगास–१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परी बैतडीको सिगास–१ बस्ने १९ वर्षीया विमला ऐर, सोही ठाउँकी चार वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने २८ वर्षीय गणेश विष्ट (चालक), बैतडी पाटन नगरपालिका–८ बस्ने २५ वर्षीया कमला विष्ट, सिगास गाउँपालिका–१ बस्ने २५ वर्षीया लालमणि बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने ३२ वर्षीय वीरेन्द्र बोहरा घाइते भएका छन्।
घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

