कांग्रेस एकतामा असर पर्ने गतिविधि नगर्न पूर्णबहादुर खड्काको अपील



काठमाडौँ, पुस २८ — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पार्टीका सबै तहका नेता–कार्यकर्तालाई अपील गर्नुभएको छ।

विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै जारी विज्ञप्तिमा उहाँले मुलुक विषम परिस्थितिमा रहेको उल्लेख गर्दै पार्टीभित्र देखिएको असहज अवस्था अन्त्य गर्न गम्भीर बन्नुपर्ने बताउनुभएको छ। “देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ,” विज्ञप्तिमा भनिएको छ, “यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु।”

कार्यवाहक सभापति खड्काले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन लोकतन्त्रलाई सही मार्गमा ल्याउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। उहाँले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि २०८३ साल वैशाखमा हुने पार्टीको १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व परिवर्तन सहज रूपमा गर्न सकिने अवस्था सुनिश्चित रहेको दाबी गर्नुभएको छ।

उहाँले वर्तमान अवस्थामा पार्टी एकताबद्ध, संगठित र सुदृढ भएर निर्वाचनमा होमिनु अपरिहार्य रहेको बताउँदै सम्पूर्ण पार्टी पंक्तिलाई एकजुट हुन आग्रह गर्नुभयो। विज्ञप्तिमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशदेखि वडा तहसम्मका नेता–कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पार्टी एकताको पक्षमा जिम्मेवारीपूर्वक अघि बढ्न अनुरोध गरिएको छ। “नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित पार्टी भएकाले फेरि एकपटक ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ,” खड्काले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्