काभ्रेको जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवनमा जलेको अवस्थामा पुरुषको शव फेला
काभ्रे,पुस २८ । जिल्लाको जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनभित्र जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। हाल निर्माणाधीन अवस्थामा रहेको तीनतले भवनको दोस्रो तलामा रहेको खुला कोठामा करिब ४५ वर्ष उमेरको, हालसम्म नामथर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन बिष्टले जानकारी दिनुभयो।
शव जलेको अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल मुचुल्का गर्ने तथा थप अनुसन्धान सुरु गरेको डीएसपी बिष्टले बताउनुभयो। मृतकको शरीरका विभिन्न भाग जलेको अवस्थामा फेला परेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
उक्त भवनको निर्माण कार्य हालसम्म सम्पन्न हुन नसकेको र घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

