कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि, पार्टी एकताका लागि निर्णायक छलफल हुने अपेक्षा



काठमाडौँ,पुस २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबार बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा आयोजना हुने पार्टीले जनाएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने क्रममा रहेको छ। यही सन्दर्भमा आकस्मिक रूपमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिनुबाट पार्टीभित्र देखिएको दुई धारबीच सहमति जुट्ने र कांग्रेस एकढिक्का हुने अपेक्षा गरिएको छ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गोरखापत्र अनलाइनसँग कुरा गर्दै पार्टी एकताका लागि छलफल तीव्र भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “पार्टीलाई एकढिक्का बनाएर लैजान सहमतिका बिन्दुहरूलाई निर्णय गर्न र केन्द्रीय कार्यसमितिले अपनत्व ग्रहण गर्न बैठक आवश्यक भएकाले आजै सूचना जारी गरिएको हो।”

पार्टी एकताका लागि संवाद जारी : नेता कार्की

यसैबीच, नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताउनुभएको छ। सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा सोमबार भएको पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पार्टी एकताका लागि निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो।छलफलमा कांग्रेसलाई एकजुट बनाएर देशलाई वर्तमान सङ्कटबाट मुक्त गर्दै जनताको चाहनाअनुसार अगाडि बढ्नुपर्नेमा सबैको साझा धारणा रहेको नेता कार्कीले बताउनुभयो।

त्यस्तै, पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पनि पार्टी विभाजन रोक्न हदैसम्म लचक भएर छलफल भइरहेको र विशेष महाधिवेशन पक्षधर नेताहरूसँग संवाद जारी रहेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्