सुनको भाउले तोड्यो नयाँ रेकर्ड, प्रतितोला २ लाख ७४ हजार नाघ्यो



काठमाडौँ,पुस २९ : स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एकैदिन चार हजार एक सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो हालसम्मकै उच्च मूल्य हो। यसअघि सुनको भाउ दुई लाख ७० हजार ६ सय रुपैयाँ पुगेपछि घटेर दुई लाख ५९ हजार रुपैयाँसम्म झरेको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण सुनको मूल्य निरन्तर उकालो लागेको महासङ्घले जनाएको छ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ५६८ अमेरिकी डलरमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको असर स्थानीय बजारमा परेको हो। चालु पुस महिनामा मात्रै सुनको मूल्य तोलामा १५ हजार ७ सय रुपैयाँले बढिसकेको छ।

यसैबीच, चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। आइतबार प्रतितोला चार हजार ९९० रुपैयाँ रहेको चाँदी सोमबार बढेर पाँच हजार १९५ रुपैयाँ पुगेको छ। यो वृद्धिदर एकैदिनमा २९५ रुपैयाँ हो।अन्तर्राष्ट्रिय बजारमा सोमबार चाँदी प्रतिऔँस ८४ अमेरिकी डलरमा कारोबार भएको महासङ्घले जनाएको छ। औद्योगिक क्षेत्रमा चाँदीको प्रयोग बढ्दै जाँदा यसको माग र मूल्य दुवै निरन्तर बढिरहेको बताइएको छ। चालु पुस महिनामा मात्रै चाँदीको मूल्य तोलामा एक हजार ३१० रुपैयाँले बढिसकेको छ।

प्रतिक्रिया दिनुहोस्