पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र पहाड–हिमालमा आंशिक बदली
काठमाडौँ,पुस २९ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही प्रदेशमा मौसम आंशिक बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली देखिएको छ भने तराई भूभागका थोरै स्थानमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, राति पनि तराई भूभागका केही स्थानमा हुस्सु रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

