दिलनिशानीको टिप्पणी : ‘कुलमानलाई चुनावी रणनीतिमा प्रयोग गरेर अपमान गरियो’



काठमाडौँ,पुस २९ । लेखक तथा स्तम्भकार दिलनिशानी मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको स्टाटसले पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिएर भएको राजनीतिक घटनाक्रममाथि कडा टिप्पणी गरेको छ।

स्टाटसमा मगरले नेपालमा तामाङ समुदायसहित विभिन्न जाति र वर्गका नागरिकबीच कुलमान घिसिङप्रति व्यापक सम्मान र समर्थन रहेको दाबी गर्नुभएको छ। उहाँका अनुसार जनजाति समुदाय मात्र नभई अन्य समुदायका सर्वसाधारण नागरिकहरू पनि कुलमानको पक्षमा सकारात्मक भावना राख्थे, जसका कारण नयाँ राजनीतिक दलले उल्लेख्य सिट जित्न सक्ने सम्भावना देखिएको थियो।

तर, दिलनिशानी मगरले केही राजनीतिक नेतृत्व र समूहले कुलमानलाई दीर्घकालीन राजनीतिक नेतृत्वका रूपमा होइन, केवल चुनावी रणनीतिका लागि प्रयोग गरिएको आरोप लगाउनुभएको छ। उहाँले कुलमानलाई पार्टीभित्र वास्तविक निर्णयको स्थान नदिइएको र अन्ततः अपमानजनक अवस्थाबाट बाहिरिन बाध्य पारिएको उल्लेख गर्नुभएको छ।

स्टाटसमा मगरले कुलमानको व्यक्तित्व, विगतको योगदान र सार्वजनिक छविलाई ‘हेभीवेट’ भन्दै उहाँलाई साधारण राजनीतिक कार्यकर्ताजस्तो व्यवहार गर्नु अन्याय भएको टिप्पणी गर्नुभएको छ। साथै, कुलमानलाई पार्टीको समानुपातिक प्रक्रियामा समेत योजनाबद्ध रूपमा कमजोर बनाइएको आरोप पनि लगाइएको छ।

राजनीतिक दल र त्यसका समर्थकहरूमाथि आलोचना गर्दै मगरले असहमति राख्नेहरूमाथि सामाजिक सञ्जालमार्फत दबाब, गालीगलौज र साइबर आक्रमण हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले यस्ता गतिविधिले स्वस्थ राजनीतिक बहसलाई कमजोर बनाउने र समाजमा डरको वातावरण सिर्जना गर्ने चेतावनी दिनुभएको छ।

स्टाटसको अन्त्यमा मगरले कुलमान घिसिङलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्