हिमाचलमा ग्यास सिलिन्डर विस्फोट : सल्यानका दुई परिवारका ९ नेपालीको ज्यान गयो



काठमाडौँ,पुस २९ । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपाली नागरिकको मृत्यु भएको छ। मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

सोमबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो। विस्फोटपछि आगलागी भई वरपरका घरसमेत जलेर ध्वस्त भएका छन्। घटनास्थलमै उनीहरूको मृत्यु भएको बताइएको छ।

सिद्धकुमाख गाउँपालिका–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक रहेका छन्। यस्तै, अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको छ।

उनीहरू करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए। स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो, जहाँबाट दुर्घटना भएको अनुमान गरिएको छ।

हालसम्म पाँच जनाको शव फेला परेको र बाँकी शवको खोजी कार्य जारी रहेको बताइएको छ। विस्फोटका कारण शवहरू तितरवितर भएकाले सबैको औपचारिक पहिचान प्रक्रिया पूरा हुन बाँकी रहेको जनाइएको छ। घटनास्थलमा स्थानीय प्रशासन तथा सुरक्षाकर्मी उद्धार र अनुसन्धान कार्यमा खटिएका छन्।

एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका–२ शोकमा डुबेको छ। गाउँभर शोकको वातावरण छाएको छ भने आफन्त तथा छिमेकीहरू स्तब्ध बनेका छन्।

वडा अध्यक्ष मेकराज बुढाथोकीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मङ्गलबार वडा शोक सभा आयोजना गरिने जानकारी दिनुभयो। साथै वडा कार्यालयसहित सम्बन्धित सरकारी कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो। विदेशमा रोजगारी गरेर परिवार पाल्ने सपना बोकेका नागरिकहरूको यसरी अकालमै ज्यान जानु अत्यन्त पीडादायी घटना भएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्