विशेष महाधिवेशनको स्वामित्व लिन कांग्रेस संस्थापनलाई पक्षधर समूहको दबाब



काठमाडौं,पुस २९ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ।

विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेरअघि आयोजित पत्रकार सम्मेलनमा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न विशेष महाधिवेशनको स्वामित्व लिनु अपरिहार्य रहेको बताउनुभयो।

उहाँले महाधिवेशन प्रतिनिधि कांग्रेस विधानका सर्वोच्च विधायक भएको उल्लेख गर्दै विशेष महाधिवेशनले गरेका निर्णयलाई मानेर पार्टी अघि बढ्नुपर्ने धारणा राख्नुभयो। “विशेष महाधिवेशनले गरेका निर्णय स्वीकार गर्दै पार्टीले त्यसको स्वामित्व ग्रहण गर्नुपर्छ,” उहाँले भन्नुभयो।संयोजक पोखरेलले पार्टी सभापतिले आफ्नो जिम्मेवारी छोड्नुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने र आगामी निर्वाचनमा सभापतिको उम्मेदवार बन्न नहुनेसमेत बताउनुभयो। साथै, पार्टी नेतृत्वले महाधिवेशन प्रतिनिधिहरूलाई हेप्ने प्रवृत्ति त्याग्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ बनाएको उल्लेख गर्दै आगामी दिनमा कांग्रेसभित्र भागबण्डाको राजनीति अन्त्य हुने विश्वाससमेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्