सम्पूर्ण वैधानिक प्रक्रियासहित निर्वाचन आयोग जानेछौँ : महामन्त्री
काठमाडौं,पुस २९ । विश्वप्रकाश शर्मानेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनपछि सम्पूर्ण वैधानिक बन्दोबस्त पूरा गरी निर्वाचन आयोग जाने स्पष्ट पार्नुभएको छ। मंगलबार काठमाडौँमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले नेतृत्व चयनपछि विशेष महाधिवेशनले लिएको म्याण्डेटसहित निर्वाचन आयोग पुग्नुपर्ने अवस्था रहेको बताउनुभयो।
उहाँका अनुसार निर्वाचन आयोग विशेष महाधिवेशनबाट कस्तो निर्णय र नेतृत्व चयन भयो भन्ने विषयमा पर्खिरहेको हुन्छ।उहाँले नेतृत्व चयन भइसकेपछि कतिपय प्रतिनिधि घर फर्किन सक्ने भए पनि आफूहरूका लागि निर्वाचन आयोग जानु अनिवार्य हुने उल्लेख गर्नुभयो। “विशेष महाधिवेशनले के निर्णय लिएर आयो भन्ने कुरा निर्वाचन आयोगले हेर्नेछ, त्यसैले हामी सम्पूर्ण कानुनी र वैधानिक प्रक्रिया पूरा गरेर जानुपर्छ,” उहाँले भन्नुभयो।
महामन्त्री शर्माले आफूले उम्मेदवारी दिएको र जित्ने विश्वास रहेको भए पनि कतिपय अवस्थामा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्ने परिस्थिति बन्न सक्ने बताउनुभयो। उम्मेदवारी दर्ता गर्नु स्वाभाविक भए पनि पार्टी एकताको हितमा सर्वसम्मत निर्णय आवश्यक पर्न सक्ने उहाँको भनाइ थियो। उहाँले अबको राजनीतिमा जुझारुपन, जिम्मेवारी र परिपक्वता आवश्यक रहेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध ढङ्गले अगाडि बढाउन सबै पक्षलाई सहकार्य गर्न आग्रह गर्नुभयो ।

