१८ महिनापछि त्रिशूली नदीमा फेला पर्यो बेपत्ता ‘गणपति डिलक्स’ बस
काठमाडौं,पुस २९ । त्रिशूली नदीमा १८ महिना अगाडि पहिरोसँगै बेपत्ता भएको गणपति डिलक्स बस फेला परेको छ।
स
शस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाका अनुसार मङ्गलबार बालुवाले पुरिएको अवस्थामा उत्खनन् गर्ने क्रममा गणपति डिलक्स लेखिएको बस फेला परेको हो।
प्रहरीले पुस २८ गते सोमबार त्रिशूली नदीमा पुरिएको अवस्थामा बसको केही भाग देखिएपछि उत्खनन् कार्य सुरु गरेको थियो। उत्खनन् कार्य जारी रहेको र फेला परेको बस गणपति डिलक्स नै भएको यकिन भइसकेको प्रवक्ता थापाले जानकारी दिनुभयो।
“पुरिएको अवस्थामा रहेको बस निकाल्ने काम भइरहेको छ। उत्खनन् गर्दा फेला परेको बस गणपति डिलक्स भएको पुष्टि भएको छ,” उहाँले भन्नुभयो। बससँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो।
१८ महिना अगाडि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमताल क्षेत्रमा आएको भीषण पहिरोले दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा खसालेर बेपत्ता बनाएको थियो।
पहिरोका कारण वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४१५ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए।
घटनापछि लामो समयदेखि खोजी कार्य भए पनि बस फेला पर्न सकेको थिएन। अहिले १८ महिनापछि गणपति डिलक्स बस फेला परेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

