“गाउँ–गाउँको विकास हाम्रो पहलको परिणाम हो” — नेतृ राधिका तामाङ



नुवाकोट,पुस २९ । बागमती प्रदेश सभा सदस्य तथा पूर्व उपसभामुख राधिका तामाङले गाउँ–गाउँमा देखिएको विकासको उपलब्धि आफ्नो पार्टी र नेतृत्वको पहलबाट सम्भव भएको बताउनुभएको छ। शिवपुरी गाउँपालिका वडा नम्बर ५ भट्टार कार्किडाडास्थित साङ्गे छ्योलिङ्ग गुम्बा भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संघीय सांसद हितबहादुर तामाङ र आफूले अघि सारेका विकास योजनाहरूले आज मूर्तरूप लिएको उल्लेख गर्नुभयो।

नेतृ तामाङले विभिन्न तहका सरकारसँगको समन्वयमा विकास बजेट सुनिश्चित गरिएको र त्यसकै परिणामस्वरूप गाउँ–बस्तीमा सडक, धार्मिक तथा सामुदायिक पूर्वाधार निर्माणले तीव्रता पाएको बताउनुभयो। पछिल्लो समय सडक संजाल मार्फत आवतजावत सहज बन्दै गएको उल्लेख गर्दै उहाँले विकास जनताको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको धारणा राख्नुभयो।

शिवपुरी–५ मा निर्माण सम्पन्न साङ्गे छ्योलिङ्ग गुम्बा भवनका लागि विभिन्न तहका सरकारबाट गरी कुल १ करोड ३ हजार ५० हजार रुपैयाँ बजेट विनियोजन भएको जनाइएको छ। पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ अन्तरिम विधायिका सदस्य रहँदा गुम्बा निर्माणका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसैगरी पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य राधिका तामाङ कृषि राज्यमन्त्री रहँदा २ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको थियो।

प्रदेश सरकारबाट १० लाख रुपैयाँ र सङ्घीय सरकारबाट ९१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएपछि गुम्बा निर्माण कार्य सम्पन्न भएको हो। स्थानीय सरोकारवालाहरूले बहु–तहको सरकारी सहयोगले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा टेवा पुगेको बताएका छन्। साङ्गे छ्योलिङ्ग गुम्बा अब धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्