नुवाकोटको पृथ्वी माविले मनायो वार्षिकोत्सब
नुवाकोट,पुस २९ । पृथ्वी माध्यमिक विद्यालय, विदुर–नुवाकोटले आफ्नो ५१औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। मंगलबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले पृथ्वी माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विदुर क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक उन्नति तथा भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपप्रमुख बोगटीले विद्यालयको लामो इतिहास र शैक्षिक योगदानको प्रशंसा गर्दै विद्यार्थीलाई अनुशासन, सिर्जनशीलता र सीपमूलक शिक्षातर्फ प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायत विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले उपस्थित दर्शकहरूको मन जितेको थियो। कार्यक्रममा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो।
विद्यालय परिवारले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र समग्र विकासमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

