तेस्रो खोलेगाउँ महोत्सव आज, इन्द्रेणी टिमसहित ख्यातिप्राप्त कलाकारको प्रस्तुति



नुवाकोट, पुस ३० । स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यका साथ तेस्रो खोलेगाउँ महोत्सव आज शिवपुरी गाउँपालिका–६ स्थित खोलेगाउँमा आयोजना हुँदैछ।

महोत्सवमा स्थानीय कृषि तथा हस्तकलाजन्य उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरणको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ। यसले किसान तथा स्थानीय उद्यमीहरूलाई आफ्ना उत्पादनको बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार खोलेगाउँ महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै कलाकारहरूलाई हौसला प्रदान गर्दै मौलिक संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्नेछ। शिवपुरी गाउँपालिका–६ का वडा अध्यक्ष विष्णु श्रेष्ठले महोत्सवले गाउँको पहिचान उजागर गर्नुका साथै स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

यस वर्षको महोत्सवमा सांस्कृतिक प्रस्तुति प्रमुख आकर्षणका रूपमा रहने वडा सदस्य कमल लामा (नुवाकोटे टाइगर)ले जानकारी दिनुभयो। महोत्सवमा इन्द्रेणी सांस्कृतिक कार्यक्रमका प्रमुख कृष्ण कडेलसहित ख्यातिप्राप्त कलाकारहरूको टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

कला–संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर आयोजना गरिने खोलेगाउँ महोत्सवलाई स्थानीय पहिचान झल्किने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। साथै महोत्सवले किसान, स्थानीय उद्यमी र कलाकारलाई प्रोत्साहन गर्नुका साथै नुवाकोटको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कृषि, व्यापार, संस्कृति र पर्यटनलाई एउटै मञ्चमा जोड्ने यो सामुदायिक पहलले नुवाकोटको मौलिकता र सम्भावनालाई उजागर गर्ने आयोजकको विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्