विद्यालयबाहिर ७ लाख ७० हजार बालबालिका, आधाले कहिल्यै स्कुल देखेनन्
काठमाडौँ, पुस ३० । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ का आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीमध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएका छन् भने बाँकी ५० प्रतिशतले पढाइ बीचमै छाडेका छन्।
प्रतिवेदनले विद्यालयबाहिर रहने बालबालिका मुख्यतः भौगोलिक रूपमा विकट क्षेत्र र न्यून आयस्तरका सीमान्तकृत समुदायमा बढी रहेको देखाएको छ। विद्यालय छाड्ने जोखिम पाँच वर्षको उमेरमा तथा माध्यमिक तहमा प्रवेश गर्ने १० देखि १४ वर्ष उमेर समूहमा उच्च रहेको उल्लेख छ। विशेषगरी कक्षा ५ पछिका वर्षहरूमा विद्यालय छाड्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढ्ने तथ्याङ्कले देखाएको छ।
प्रादेशिक रूपमा मधेश, दलित र अल्पसङ्ख्यक समुदायका करिब तीनचौथाइ बालबालिका कहिल्यै विद्यालय नगएका समूहमा पर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यता गण्डकी प्रदेशमा भने विद्यालयबाहिर रहेका बालबालिकाको अनुपात ५ प्रतिशतभन्दा कम रहेको छ।
यस्तै, प्रतिवेदनअनुसार पाँच वर्षभन्दा माथिका व्यक्तिको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ।
जनगणना २०७८ ले २९ प्रतिशत घरपरिवारमा १८ वर्षमुनिका बालबालिका नरहेको देखाएको छ। कुल जनसङ्ख्यामा बालबालिकाको हिस्सा ३४ प्रतिशतमा झरेको छ, जुन विगतका जनगणनाको तुलनामा निरन्तर घट्दो क्रममा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

