भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य मेलाको तयारी



नुवाकोट, पुस ३० । नुवाकोट जिल्लाको पूर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य धार्मिक मेलाको तयारी गरिएको छ।

‘दोस्रो दुप्चेश्वर’ का रूपमा चिनिने उक्त मन्दिरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त बजेटबाट देवालय तथा सिढीयुक्त बाटो निर्माण भएपछि मन्दिर थप आकर्षक बनेको वडा नम्बर ५ का अध्यक्ष माधव सिटौलाले जानकारी दिनुभयो। उहाँका अनुसार हालै मन्दिर परिसरमा रहेको पत्थरबाट निर्माण गरिएको महादेवको मूर्तिको आज उद्घाटन गरिँदैछ। मूर्ति उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

वर्षौँदेखि चल्दै आएको धार्मिक परम्परा युवा पुस्तामा हस्तान्तरण हुन नसक्दा मन्दिर संरक्षणमा चुनौती देखिएपछि त्यसलाई पुनः पुरानै लयमा फर्काउने प्रयास थालिएको वडाध्यक्ष सिटौलाले बताउनुभयो। सिखरवेसीस्थित दुप्चेश्वर महादेव मन्दिरसँग मिल्दोजुल्दो संरचना रहेको यस भद्रुटार दुप्चेश्वर मन्दिरको संरक्षणमा स्थानीयवासीले जनश्रमदानसमेत गरेका छन्। मन्दिर तथा देवालय संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने नेतृत्व पाएकोमा स्थानीयवासी हर्षित देखिएका छन्।

मन्दिर क्षेत्रमा दर्शनार्थीका लागि देवालय, सोलार प्रणालीको व्यवस्था तथा मन्दिरसम्म पुग्न सिढीयुक्त बाटो निर्माण गरिएको छ। पौष मसान्तका दिन लाग्ने वार्षिक मेलामा यस वर्ष विभिन्न चुट्का, भजन, धामी–झाँक्रीसहितको झाँकी तथा राष्ट्रिय स्तरका कलाकारद्वारा लोकदोहोरी कार्यक्रम प्रस्तुत गरिने वडा कार्यालयले जनाएको छ।
यस क्षेत्रमा गाईको पाइलाको डोब (खुरको चिन्ह) भएको पत्थर समेत रहेको छ। सदियौँदेखि यहाँ भगवान शिवको पूजा–आराधना हुँदै आएको धार्मिक विश्वास रहँदै आएको छ। तर पछिल्लो समय दर्शनार्थी र धार्मिक गतिविधि घट्दै गएको भन्दै संरक्षणको उद्देश्यले मन्दिर पुनः सक्रिय बनाइएको हो।

मन्दिर परिसरमा अर्को रहस्यमय विशेषता पनि देख्न सकिन्छ। पत्थरको बीचबाट निरन्तर पानीको मूल बग्ने गरेको छ, जुन न त सुकेको छ न त बढेको नै। धार्मिक जनविश्वासअनुसार उक्त स्थानमा गाईले दूध चढाउने गरेको कथन पनि प्रचलित छ।

प्रतिक्रिया दिनुहोस्