टिचिङ अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने
काठमाडौँ,पुस ३० । त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने भएको छ।
अस्पतालले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डले उपचारबापतको रकम समयमै उपलब्ध नगराएको कारण यस्तो निर्णय लिनुपरेको जनाएको छ। स्वास्थ्य बीमा सेवामार्फत उपचार लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको भए पनि बोर्डबाट आवश्यक भुक्तानी नहुँदा अस्पताल आर्थिक संकटमा परेको बताइएको छ।
सूचनामा उल्लेख भएअनुसार अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच उपचार शुल्क (दररेट) मा फरक रहँदै आएको छ। अस्पतालले विगत दुई वर्षदेखि आफ्नो दररेटलाई अन्तिम मान्यता दिन बोर्डलाई आग्रह गर्दै आए पनि त्यसको सुनुवाइ नभएको जनाएको छ। साथै, अस्पतालले आन्तरिक स्रोतबाट दैनिक सम्पूर्ण खर्च व्यहोर्नु पर्दा मासिक करिब दुई करोड रुपैयाँ घाटा हुँदै आएको भन्दै अब बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएको स्पष्ट पारेको छ।
अस्पतालका अनुसार मासिक करिब पाँच करोड रुपैयाँ बराबरको खर्च हुने गरेकोमा स्वास्थ्य बीमा बोर्डले केवल ५० प्रतिशत दाबी मात्र स्वीकृत गर्ने र बाँकी रकम अस्वीकृत गर्दै आएको छ। हालसम्म अस्पतालको स्वास्थ्य बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाइएको छ।
त्रिवि शिक्षण अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बीमा उपचार सेवा सञ्चालन गर्दै आएको थियो। माघ १ गतेदेखि बीमा सेवा बन्द हुने निर्णयले बीमामार्फत उपचार लिँदै आएका बिरामीहरू प्रभावित हुने अस्पतालले जनाएको छ।

