पार्टी एकताका लागि जस्तोसुकै लचकतामा जान तयार छु : सभापति देउवा



काठमाडौँ,पुस ३०। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुन पनि तयार रहेको स्पष्ट गर्नुभएको छ।

बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवादबारे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको टोलीसँग भएको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवाले पार्टी फुटबाट जोगिन लचकता अपरिहार्य भएको बताउनुभएको थियो।

प्रवक्ता महतले जानकारी दिएअनुसार टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने माग उठेपछि सभापति देउवाले त्यसलाई छोड्न समेत आफू तयार रहेको बताउनुभएको छ। अन्य विषयमा भने ठूलो समस्या नरहेको उल्लेख गर्दै पार्टीलाई विभाजनतर्फ जान नदिन महामन्त्रीहरूलाई आग्रह गर्नुभएको प्रवक्ता महतले बताए।

त्यस्तै, सभापति देउवाले संसदीय बोर्ड पनि सल्लाह गरेर नै गठन गर्न प्रस्ताव गर्नुभएको जानकारी दिइएको छ। चुनाव लड्ने विषयमा उठेका प्रश्नका सन्दर्भमा महामन्त्रीद्वयले सभापतिले चुनाव नलड्ने भन्ने कुरा नगरेको स्पष्ट पारेको प्रवक्ता महतले जनाउनुभयो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवासँग छलफल भएका विषयहरू विशेष महाधिवेशनमा उठाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्