गगन–विश्वसहित नेताहरू पाँच वर्षका लागि निष्कासित, कांग्रेस औपचारिक रूपमा विभाजनतर्फ



काठमाडौँ,पुस ३०। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन (देउवा) समूहले कारबाही गरेको छ।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा र शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायत नेताहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको पक्षमा उभिएका नेता तथा कार्यकर्ताहरूलाई आ–आफ्नो भूमिकामा फर्किन आग्रहसमेत गरेको छ। तर, विशेष महाधिवेशन पक्षधर समूहले भने महाधिवेशनलाई निरन्तरता दिँदै सभापतिमा गगन थापा र महामन्त्रीमा विश्वप्रकाश शर्मा तथा प्रदीप पौडेललाई चयन गर्ने प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

संस्थापन पक्षको कारबाही र विशेष महाधिवेशन पक्षधरको अलग्गै नेतृत्व चयन प्रक्रियासँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनतर्फ अघि बढेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। यो घटनाक्रमले पार्टीभित्रको आन्तरिक विवादलाई थप चर्काएको छ भने आगामी निर्वाचन र समग्र राष्ट्रिय राजनीतिमा यसको गहिरो असर पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्