माघे सङ्क्रान्तिको रौनकः टोखाबाट पाँच करोडभन्दा बढीको चाकू बिक्री
काठमाडौँ, पुस ३० । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकू उद्योगहरू यतिबेला व्यस्त बनेका छन्। यस वर्ष टोखाबाट पाँच करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको चाकू बिक्री भएको छ। परम्परागत परिकार चाकूको माग बढेसँगै व्यवसायीलाई उत्पादन र आपूर्तिमा भ्याइनभ्याइ भएको छ।
हाल टोखामा १८ वटा उद्योग सञ्चालनमा छन्। तीमध्ये १० उद्योगले चाकू उत्पादन गर्दै आएका छन् भने बाँकी ८ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन्। टोखा नगरपालिका–२ र ३ क्षेत्रलाई चाकू उत्पादनको केन्द्र मानिन्छ, जुन टोखाको पुरानो बजारसमेत हो। यही बजारको नामबाट टोखा नगरपालिकाको नामाकरण गरिएको हो।
टोखामा उत्पादन भएको चाकू काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुरसँगै नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्रीका लागि पठाइन्छ। टोखामा उत्पादन हुने चाकूले नेपालको करिब ६० प्रतिशतभन्दा बढी माग पूर्ति गर्ने गरिएको छ।
टोखा परम्परागत चाकू संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठका अनुसार टोखामा उत्पादित चाकू नेपालसँगै जापान, अमेरिका र अष्ट्रेलियालगायत देशसम्म निर्यात हुँदै आएको छ। यहाँ वार्षिक करिब पाँच लाख किलो चाकू र लड्डु उत्पादन हुने गरेको बताइन्छ।
नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ फल्ने ठाउँ भन्ने हुन्छ। टोखा उखुखेती हुने स्थानका रूपमा चिनिँदै आए पनि बढ्दो सहरीकरणका कारण अहिले उखुखेती भने घट्दै गएको छ। हाल कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको यसवन्त गुण उद्योगबाट सख्खर ल्याएर टोखामा चाकू बनाइँदै आएको छ।
टोखाका उद्योगमा सादा चाकू, मसला चाकू, स्पेशल चाकू, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु, बदाम लड्डुलगायत परिकार उत्पादन हुँदै आएका छन्। टोखा परम्परागत चाकू संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठका अनुसार चाकू र उखुबाट बन्ने परिकारको बिक्रीबाट टोखाका उद्योगहरूले वार्षिक करोडौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्। कृष्ण चाकू उद्योग, काशीलाल चाकू उद्योग र न्हुछे चाकू एण्ड तिरौला उद्योग यहाँका ठूला उद्योग हुन्।
मूल्यतर्फ सादा चाकू प्रतिकिलो १४० रुपैयाँ, मसला चाकू १५० रुपैयाँ, सेतो तिलको लड्डु २३० रुपैयाँ र कालो तिलको लड्डु २५० रुपैयाँ निर्धारण गरिएको छ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको ऐतिहासिक पहिचान जोगाउन चाकू स्तम्भ निर्माणको काम अघि बढाइएको जानकारी दिनुभयो। “टोखा नगरपालिका–२ गलेमा चाकू स्तम्भका लागि डिपिआर निर्माण भइसकेको छ, छिट्टै निर्माण कार्य सुरु हुन्छ,” उहाँले भन्नुभयो। नगरपालिकाले टोखाको चाकूलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने योजना पनि अघि सारेको छ।
नेवारी संस्कृतिमा माघ १ गते चाकू खानैपर्ने परम्परा छ। साथै काजक्रिया, जाडो मौसममा स्वास्थ्यका लागि चाकू उपयोगी मानिन्छ। माघे सङ्क्रान्तिमा चाकूसँगै सख्खर, तरुललगायतका परिकार खाने चलनले टोखाको चाकू संस्कृतिलाई आज पनि जीवन्त राखेको छ।

