नयाँ नेतृत्वबारे निर्वाचन आयोगलाई जानकारी गराइने : सभापति गगन थापा
काठमाडौँ,माघ १ । विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाले पार्टीको नयाँ नेतृत्वसम्बन्धी विवरण निर्वाचन आयोगलाई जानकारी गराइने बताएका छन्। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित सभापति थापाले बिहीबार निर्वाचन आयोगमा औपचारिक रूपमा जानकारी गराइने स्पष्ट पारे।
सभापति थापाले निर्वाचन आयोगले आवश्यक ठानेका कागजात र विवरण उपलब्ध गराइने उल्लेख गर्दै १० लाख क्रियाशील सदस्यहरूमध्ये करिब ९ लाख ८० हजार सदस्य नयाँ नेतृत्वको पक्षमा रहेको दाबी गरे। पार्टीको अद्यावधिक सदस्यता विवरण तथा नयाँ विधानसम्बन्धी विषयमा समेत आयोगलाई जानकारी गराइने उनको भनाइ छ।
उनले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व वैधानिक प्रक्रिया अनुसार अघि बढ्ने बताउँदै पार्टीलाई संस्थागत रूपमा मजबुत बनाउने प्रतिबद्धता जनाए।

