शिवपुरीमा गोरु जुधाउने मेला यसवर्ष पनि निरन्तर, २ हल गोरु जुधाइने



नुवाकोट,माघ १। नुवाकोटको शिवपुरी गाउँपालिकामा वर्षौंदेखि चलिआएको परम्परागत गोरु जुधाउने मेला यसवर्ष पनि निरन्तरता पाउने भएको छ। २०७५ सालदेखि सेरा बगर समाजको आयोजनामा उत्सवका रूपमा मनाइँदै आएको गोरु जुधाउने कार्यक्रम आर्थिक अभावका कारण गतवर्ष औपचारिक रूपमा आयोजना हुन सकेको थिएन।

यद्यपि, परम्परा नटुटोस् भन्ने उद्देश्यले गतवर्ष स्थानीयले नै दुई हल गोरु जुधाउँदै चलनलाई निरन्तरता दिएका थिए। यसवर्ष पनि सेरा बगरमा स्थानीयकै पहलमा दुई हल गोरु जुधाउने तयारी गरिएको सेरा बगर समाजका अध्यक्ष तथा स्थानीय अभियान आचार्यले जानकारी दिए।

उनका अनुसार विगतमा कार्यक्रमलाई अझ व्यवस्थित र परिस्कृत रूपमा विभिन्न सांस्कृतिक गतिविधिसहित आयोजना गरिँदै आएको थियो। तर पछिल्लो समय स्थानीय तहबाट आर्थिक व्यवस्थापनमा चासो नदिँदा कार्यक्रम निरन्तर गर्न कठिन भएको बताए। साथै, गोरु जुधाउने स्थल आसपास क्रसर उद्योग सञ्चालनमा रहेकाले स्थान व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको उनको भनाइ छ।

आचार्यका अनुसार स्थान परिवर्तनको विकल्प भए पनि मुख्य समस्या आर्थिक पक्ष नै पेचिलो भएकाले औपचारिक कार्यक्रम अघि बढाउन नसकिएको हो। स्थानीयवासीले भने उचित व्यवस्थापन नहुँदा वर्षौंदेखिको परम्परागत पर्व क्रमशः लोप हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्