शिवपुरीमा तेस्रो खोलेगाउँ महोत्सव सम्पन्न, स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धनमा जोड



नुवाकोट,माघ १ । स्थानीय उत्सवका रूपमा प्रवद्र्धन गर्दै नुवाकोटको समुन्द्रादेवीस्थित शिवपुरी गाउँपालिका–६ खोलेगाउँमा तेस्रो खोलेगाउँ महोत्सव सम्पन्न भएको छ। गाउँका उत्पादनको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित बुधबार महोत्सव आयोजना गरिएको हो।

महोत्सवको उद्घाटन वागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले गर्नुभएको हो। उद्घाटन समारोहमा उहाँले महोत्सवले स्थानीय किसानले उत्पादन गरेका वस्तुको प्रवर्द्धन, बजारीकरण र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

खोलेगाउँमा सञ्चालित महोत्सवमा स्थानीयवासीले उत्पादन गरेका कृषि उपज, पर्यटनसँग सम्बन्धित सामग्री तथा अन्य स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो। यसले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज बनाएको आयोजकहरूको भनाइ छ।

आयोजक समितिका सदस्य कमल तामाङका अनुसार खोलेगाउँ महोत्सवले स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्नुका साथै इन्द्रेणी समाजका कलाकारहरूको प्रतिभा उजागर गर्न विशेष भूमिका खेलेको छ। यस वर्षको महोत्सवमा विभिन्न बाजागाजा, लोकसंस्कृति, झाँकी तथा सांस्कृतिक प्रस्तुति मुख्य आकर्षणका रूपमा रहेका थिए।

महोत्सवमा कलाकारहरूको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै स्थानीय विकासमा सरोकारवालाबीच सहकार्य र साझेदारीलाई समेत महोत्सवले प्रोत्साहन गरेको जनाइएको छ।

महोत्सव उद्घाटन कार्यक्रममा एमाले वागमती प्रदेश सदस्य बलराम आचार्य, काशीराज अधिकारी र जितेन्द्र विष्ट, क्षेत्रीय कमिटी अध्यक्ष सुशीलकुमार खड्का, शिवपुरी गाउँपालिका–६ का वडाध्यक्ष तथा महोत्सव संयोजक विष्णु श्रेष्ठ, महोत्सव आयोजक समिति सदस्य तथा एमाले शिवपुरी अध्यक्ष कमल तामाङलगायतले महोत्सवले स्थानीय किसान, उद्यमी र कलाकारलाई प्रोत्साहन गर्दै कृषि, व्यापार, पर्यटन र संस्कृतिको समग्र प्रवद्र्धन गरेको धारणा राख्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्