कसेरीघाट सामूहिक हत्या प्रकरणः एक जना पक्राउ, संलग्नता स्वीकार
तनहुँ,माघ १ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित कसेरीघाटमा भएको तीन जनाको सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको शव फेला परेपछि प्रहरीले घटनाबारे गहन अनुसन्धान सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार मङ्गलबार पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र अनुसन्धानको संवेदनशीलताका कारण पक्राउ परेका व्यक्तिको नाम र ठेगाना गोप्य राखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति उक्त फोहोरमैला प्रशोधन केन्द्रमा बारम्बार आवतजावत गर्ने व्यक्ति रहेको खुलेको छ।
प्रहरीका अनुसार मृत फेला परेका तीन जनामध्ये दुई जनाको सनाखत भइसकेको छ। सनाखत हुनेहरूमा शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरकी ५८ वर्षीया देउमाया थापा रहेका छन्। तेस्रो मृतक एक पुरुषको भने हालसम्म पहिचान खुल्न सकेको छैन।
घटनाको कारण र प्रकृतिबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले चाँडै पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ।

