कांग्रेस एकता प्रयास सफल हुन नसकेको डा. शेखर कोइरालाको स्वीकारोक्ति
काठमाडौँ,माघ १। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै आसन्न निर्वाचनमा कांग्रेस एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै डा. कोइरालाले कांग्रेसभित्र देखिएको विभाजनलाई “नियतिको कठोर सत्य” का रूपमा व्याख्या गर्नुभएको छ।
उहाँले पार्टी एकता नहुनुको दोष कसैलाई थोपर्ने भन्दा पनि सबैले कहीँ न कहीँ कमजोरी भएको स्वीकार गर्नुपर्ने बताउनुभएको छ। पार्टीभित्र र बाहिर देखिएका अन्तरविरोध, षड्यन्त्र र स्वार्थका कारण कांग्रेसलाई कमजोर पार्न चाहने प्रयासलाई रोक्न नसकिएको उहाँको भनाइ छ। डा. कोइरालाले वर्तमान अवस्थालाई स्मरण गर्दै नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको उदाहरण प्रस्तुत गर्नुभएको छ। विपीले पनि कठिन परिस्थितिमा यसलाई नियतिको खेलका रूपमा बुझ्ने गरेको उल्लेख गर्दै अहिलेको अवस्थालाई पनि त्यही दृष्टिले लिनुपर्ने उहाँले बताउनुभएको छ।
आसन्न निर्वाचनलाई चुनौतीपूर्ण समयका रूपमा चित्रण गर्दै डा. कोइरालाले आठ दशक लामो कांग्रेसको गौरवपूर्ण इतिहास जोगाउने जिम्मेवारी सबैका काँधमा रहेको उल्लेख गर्नुभएको छ। संगठनात्मक ऊर्जा प्रस्फुटन भएमा मात्र कांग्रेसले इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न सक्ने उहाँको भनाइ छ।
उहाँले कांग्रेस पार्टी आम कार्यकर्ताले बनाएको पार्टी भएको उल्लेख गर्दै साझा इतिहास, साझा नेता र शहीदहरूको बलिदानबाट प्रेरणा लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। पार्टीभित्र सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै डा. कोइरालाले सबैलाई कांग्रेसमै फर्किन आह्वान गर्नुभएको छ।
“यहाँ जित–हार कसैको छैन, सबैको विन–विन अवस्थाबाट हामी अगाडि बढ्न सक्छौँ,” भन्दै उहाँले कांग्रेस एकतामार्फत नेपाली जनताको समृद्धिको यात्रामा पुनः जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


