लामिछानेको मुद्दा फिर्ता लिने निर्णयप्रति ओलीको आपत्ति, ‘महान्यायाधिवक्ता कार्यालय कलंकित’
काठमाडौँ, माघ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयलाई विधिको शासनविपरीत भएको बताए। उनले वर्तमान अवस्थामा कानून र न्यायको शासन कमजोर बन्दै गएको टिप्पणी गरे।
‘कसैलाई कुनै मुद्दा लाग्दैन, कसैले सम्पत्ति खाएको रहेछ भने पनि मुद्दा लाग्दैन। हिजो भुलचुकले मुद्दा लागेको रहेछ भने पनि माफी मिनाहा हुन्छ,’ ओलीले भने, ‘अहिले थिति र विधिको शासन होइन, जसको लाठी त्यसको भैंसीजस्तो शासन नेपालमा स्थापना भएको छ।’ उनले महान्यायाधिवक्ता कार्यालय इतिहाससम्मका लागि कलंकित भएको र यो लज्जाको विषय भएकोसमेत बताए।
अध्यक्ष ओलीले दुनियाँको हिनामिना भएको पैसा राज्यले तिर्ने अवस्था आएको भन्दै प्रश्नसमेत उठाए। महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको थियो।
त्यस अवसरमा ओलीले नेपालमा नेपाली सरकार नरहेको दाबी गर्दै ‘हामी नेपालमा नेपाली सरकार बनाउन चाहन्छौँ। नेपाली बाहेकको सरकार बन्न दिँदैनौँ, बने ढाल्छौँ, फाल्छौँ,’ भनी कडा अभिव्यक्ति दिए।

