नुवाकोटको गोरु जुधाइ मेलामा डाक्टर महत भन्छन् – “मैले धेरै काम गरेको छु, म यहीँबाट चुनाव लड्छु”



नुवाकोट,माघ १ । पञ्चकन्या गाउँपालिका–३ मिलडाँडामा आयोजित मकर मेला तथा एघारौँ पञ्चकन्या बृहत् गोरु जुधाइ मेला एवं सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत रहनुभएको थियो। कार्यक्रममा सम्बोधन गर्दै डा. महतले चुनावका बेला मत मागेर काम नगर्ने प्रवृत्तिप्रति आलोचना गर्दै आफूले भने त्यस्तो नगरेको स्पष्ट पार्नुभयो। ‘मलाई मत दिनुस्, काम गर्छु भन्ने धेरै छन्, तर काम गर्दैनन्। मैले भने माग्नु अगावै काम गरेर देखाइसकेको छु,’ उहाँले भन्नुभयो।

डा. महतले छहरे–टोखा र छहरेदेखि बाहुनबेसी जाने सडक निर्माणका लागि बजेट एकीकृत गरी आफूले नै योजना अगाडि बढाएको उल्लेख गर्नुभयो। साथै पञ्चकन्या क्षेत्रमा गाउँबेसी जोड्ने सडक पक्की गर्ने आफ्नो स्पष्ट योजना रहेको पनि उहाँले बताउनुभयो।

आसन्न निर्वाचनलाई लक्षित गर्दै डा. महतले यसै क्षेत्रबाट चुनाव लड्ने घोषणा गर्दै भने, ‘चाँडै निर्वाचन हुँदैछ। सरकारले निर्वाचन गर्छु भनेको छ। म यहीँबाट निर्वाचन लड्छु। यहाँ नलडीकन पनि मैले धेरै काम गरिसकेको छु।’ उनले अरूले उधारो आश्वासन दिने तर फिर्ता नगर्ने गरेको आरोप लगाउँदै आफूले भने नमागीकनै विकासका काम सम्पन्न गरिसकेको दाबी गर्नुभयो।

‘यो गाउँ र ठाउँप्रति मेरो माया छ। माया मात्र होइन, काम गर्ने क्षमता पनि छ,’ भन्दै उहाँले विद्युत्, सडक र सिँचाइको सुनिश्चितताका लागि निरन्तर खटिने प्रतिबद्धता जनाउनुभयो।

मेलामा परम्परागत गोरु जुधाइसँगै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। मेलामा ५ हल गोरु जुधाइएको थियोे । स्थानीय संस्कृतिको संरक्षण र सामुदायिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्