नुवाकोटको पञ्चकन्यामा भाले जुधाइयो



नुवाकोट, माघ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३ मा पञ्चकन्या आर्गानिक फार्म हाउस तथा नेपाली कम्युनिस्ट पार्टी तिनघरे टोल समितिको आयोजनामा भाले जुधाई (Cock Fight) कार्यक्रम तथा महेन्द्र बहादुर/देवकुमारी थापा स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन समारोह सम्पन्न भएको छ।

कार्यक्रम महेन्द्र बहादुर थापाका सहोदर कान्छा भाइ एक बहादुर थापाको अध्यक्षतामा तथा पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष विमला पाठक केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँसभा सदस्य मानबहादुर तामाङ, भगवती अधिकारी कार्कीलगायत स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि उपाध्यक्ष केसीले भाले जुधाई जस्ता परम्परागत खेलहरू मनोरञ्जनसँगै सामाजिक सद्भाव र आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउने माध्यम भएको बताउनुभयो। साथै महेन्द्र बहादुर तथा देवकुमारी थापाको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानमार्फत दिनदुखी तथा विपन्न वर्गको सहयोगका लागि सामाजिक कामहरू अघि बढाइने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा भाले जुधाई प्रतियोगिताले दर्शकको उल्लेख्य उपस्थिति तान्दै स्थानीय संस्कृतिलाई जीवन्त बनाएको थियो। आयोजकका अनुसार यस्ता परम्परागत गतिविधिले गाउँस्तरमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्नेछ।

स्थानीयस्तरमा आयोजना गरिएको यस कार्यक्रमले पञ्चकन्या–३ को सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै सामाजिक कामलाई संस्थागत रूपमा अघि बढाउने आधार तयार गरेको आयोजक पक्षको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्