माघे सङ्क्रान्तिमा धादिङका विभिन्न स्थानमा एक सय हल गोरु जुधाइयो



धादिङ, माघ १ । माघे सङ्क्रान्तिको अवसरमा धादिङ जिल्लाका विभिन्न स्थानमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने परम्पराअनुसार गोरु जुधाइएको हो।

आयोजकका अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४ हल, लाइगाउँमा १० हल, नीलकण्ठ नगरपालिका–९ धुवाकोटको खाल्टेमा ७ हल, मर्स्याङछापमा ५ हल, सुनौलाबजारमा ८ हल, खनियाबास गाउँपालिकाको दार्खामा १७ हल, मार्पकमा ४ हल, फुलखर्कमा ११ हल, बुढाथुममा ९ हल र ज्वालामुखी गाउँपालिकाको मैदीमा ६ हल गोरु जुधाइएको छ।

मूलपानीका शम्भु थापाका अनुसार जनावर जुधाएर मनोरञ्जन लिने यो परम्परासँग ऐतिहासिक महत्व जोडिएको छ। रसुवा, नुवाकोट र धादिङ जिल्लामा प्रचलित गोरु जुधाउने परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धी १९४९ सँग जोडिएको मान्यता छ। बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका लागि माघे सङ्क्रान्तिको दिन गोरु जुधाएर यो परम्पराको थालनी गरिएको किम्बदन्ती रहेको जानकारहरू बताउँछन्।

बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि हजारौँ दर्शकको भीड लाग्ने गरेको छ। पहिला छिमेकीबीच रमाइलोका रूपमा गोरु जुधाइने गरे पनि पछिल्ला वर्षहरूमा यो प्रतियोगिताका रूपमा सञ्चालन हुँदै आएको छ।

प्रतियोगितामा उमेर र आकारका आधारमा गोरु छनोट गरिन्छ। जुधाइँदा जसको गोरु पहिला भाग्छ, उसलाई पराजित र अर्को पक्षलाई विजयी घोषित गरिन्छ। वर्खाभरि खेतबारी जोत्ने र हिउँदमा बलियो बनाएर पालिएका गोरुहरू किसानले मनोरञ्जनका लागि जुधाउने परम्परा अहिले सामाजिक भेटघाट, मित्रता नवीकरण र सांस्कृतिक उत्सवको रूपमा विकसित हुँदै गएको मैदीकी सुशीला विश्वकर्माले बताइन्।

ऐतिहासिक लिखित प्रमाण नभेटिए पनि गोरु जुधाइको परम्परा एक सय वर्षभन्दा पुरानो मानिन्छ। माघे सङ्क्रान्ति भन्नासाथ नेपालमा गोरु जुधाउने दिनका रूपमा चिनिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्