तराईमा तुवाँलो, पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा
काठमाडौँ,माघ २ । देशका तराई भूभागका केही स्थानमा अहिले तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। यस्तै कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले तराई क्षेत्रमा बिहान र बेलुकी समयमा तुवाँलो तथा हुस्सुका कारण जनजीवन, यातायात र हवाई उडानमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

