माघे सङ्क्रान्तिमा नुवाकोटमा गोरु जुधाउने महोत्सव, तारुका देशकै सांस्कृतिक पहिचान
नुवाकोट,माघ २ । स्पेनको ‘वुल फाइट’को झल्को दिने माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने महोत्सव नुवाकोटस्थित तारुकाको चन्दनीसहित विभिन्न स्थानमा आयोजना गरिएको छ। सदियौँदेखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा आयोजना हुँदै आएको यो मेला देशकै एकमात्र सांस्कृतिक नमूनाका रूपमा स्थापित हुँदै आएको छ।
सदरमुकाम विदुरदेखि करिब ३० किलोमिटर दक्षिण–पश्चिममा रहेको पर्यटकीय गाउँ तारकेश्वर गाउँपालिका–३ चन्दनीमा यस वर्ष छनोट गरिएका १३ हल गोरु जुधाइएका छन्। नेपालको एकमात्र स्थानका रूपमा परिचित तारुकामा माघे सङ्क्रान्तिका दिन गोरु जुधाइलाई पर्व, संस्कृति र पहिचानको प्रतीकका रूपमा विशेष महत्त्व दिइँदै आएको छ।
मेलामा सहभागी गोरुपालक किसानहरूलाई विजेता तथा उपविजेता घोषणा गर्दै नगद पुरस्कारसमेत प्रदान गरिएको छ। तारुकामा जुधाइएका गोरुहरूलाई तीन वर्गमा वर्गीकरण गरी प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ।
तारुकासँगै नुवाकोटका अन्य स्थानहरूमा पनि माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाइ आयोजना गरिएको छ। विदुर नगरपालिका–१० वेत्रावती र पञ्चकन्या गाउँपालिका–३ मिलडाँडामा पनि विशेष कार्यक्रमका साथ गोरु जुधाइएको हो।
गोरु जुधाइ मेला मूल्यांकन समितिका सदस्य तथा गोरुपालक किसान मदनकुमार श्रेष्ठका अनुसार तारुकामा गोरु जुधाइको परम्परा करिब दुई सय वर्ष पुरानो मानिन्छ। आफूले विगत ४० वर्षदेखि गोरु जुधाइमा सहभागिता जनाउँदै आएको उहाँले बताउनुभयो।
तारुकाको गोरु मेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाइसकेको उल्लेख गर्दै स्थानीय अगुवा झमबहादुर प्रधानले यस परम्परालाई प्रदेश र केन्द्र सरकारले राष्ट्रिय संस्कृतिको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
माघे सङ्क्रान्तिको अवसरमा तारुकाको चन्दनी पुगेर हजारौँ दर्शकले गोरु जुधाउने ऐतिहासिक मेला अवलोकन गरेका थिए, जसले स्थानीय संस्कृति, पर्यटन र पहिचानलाई थप उजागर गरेको स्थानीयवासीको भनाइ छ।

