कांग्रेसको आधिकारिकता दाबी गर्दै देउवा पक्ष निर्वाचन आयोगमा



काठमाडौं, माघ २ । नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै पार्टी संस्थापन सभापति शेरबहादुर देउवा पक्षको टोली शुक्रबार बिहान निर्वाचन आयोग पुगेको छ।

आयोगका अधिकारीहरूसँग आफ्ना धारणा राख्दै देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको तयारी भइरहेका बेला विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नु संविधान र लोकतन्त्रविरुद्धको कदम भएको दाबी गरे।उनले यसलाई गम्भीर षड्यन्त्रको संकेतका रूपमा लिइएको बताए।

खड्काले भने, “राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भइसकेको छ र माघ ११ गते निर्वाचन हुँदैछ। यस्तो संवेदनशील समयमा विशेष महाधिवेशन गरिनु नेपालको संविधान, लोकतन्त्र र परिवर्तनमाथि नै प्रहार हो।”
देउवा पक्षले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पार्टीको आधिकारिकता दाबीसम्बन्धी आवश्यक कागजातसमेत बुझाएको जनाएको छ।

यसअघि विशेष महाधिवेशन पक्षधर समूहले पनि बिहीबार निर्वाचन आयोग पुगेर आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व भएको दाबी प्रस्तुत गरेको थियो। यससँगै कांग्रेसको आधिकारिकताबारे आयोगमा दुवै पक्षबाट दाबी पेस भएसँगै निर्णय प्रक्रियातर्फ विषय प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्