काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको राजीनामा



काठमाडौं, माघ २ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।

महानगरपालिकामा लामो समयदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका पाण्डेको राजीनामालाई आगामी प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन्।

यसैबीच, पाण्डे पनि मेयर बालेन शाहले एकता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाटै काठमाडौं क्षेत्रबाट निर्वाचन लड्ने चर्चा चलेको छ। यद्यपि, यसबारे पाण्डे वा सम्बन्धित पक्षबाट औपचारिक पुष्टि भने भइसकेको छैन।

राजीनामापछि काठमाडौं महानगर प्रहरी नेतृत्वको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा महानगरपालिकाले चाँडै निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्