नुवाकोटको सुन्दरादेवीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता सुरु
नुवाकोट, माघ २ । जिल्लाको तादी गाउँपालिका वडा नं. ४ कार्यालय, सुन्दरादेवीको आयोजनामा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु भएको छ।
प्रतियोगिताको उद्घाटन पूर्व अर्थमन्त्री तथा काङ्ग्रेस नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम वडा अध्यक्ष अश्मिनकुमार पाण्डेको अध्यक्षतामा आयोजना भएको हो।
उद्घाटन समारोहमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल, पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी, तादी गाउँपालिकाका निवर्तमान अध्यक्ष नारायणप्रसाद पाण्डे, दुप्चेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष योविन्द्रसिंह तामाङ विशेष अतिथिका रूपमा सहभागी थिए।
यसैगरी, कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुन्दरा माध्यमिक विद्यालयका प्रधानाध्यापक कपिलेश्वर मण्डल, शिक्षकहरू, सुरक्षाकर्मी, समाजसेवी, अग्रज नागरिक समाजका प्रतिनिधि, खेलाडीहरू तथा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रमुख अतिथि डा. प्रकाशशरण महतले दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुका साथै खेल रेफ्रीलाई भलिबल हस्तान्तरण गर्दै पहिलो खेलको शुभारम्भ गर्नुभयो। उहाँले यस्ता खेलकुद प्रतियोगिताले युवालाई अनुशासित, स्वस्थ र एकताबद्ध बनाउने बताउनुभयो।
जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिताले स्थानीय खेलकुदको विकास, आपसी सद्भाव र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

