विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै : पूर्णबहादुर खड्का



काठमाडौं, माघ ३ । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानअनुसार कुनै पनि प्रकारको अधिवेशन वा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट गर्नुभएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खड्काले पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार विधानले नदिएको दाबी गर्नुभयो। उहाँका अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा त्यसलाई सम्बोधन गर्ने अधिकार ‘केन्द्र’सँग भए पनि केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयलाई जनाउने हो।

खड्काले गत मङ्सिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भए पनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आवश्यक सक्रियता नदेखाएकै कारण महाधिवेशन हुन नसकेको जिकिर गर्नुभयो। उहाँले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्न कार्यसमितिले प्रक्रिया अघि बढाए पनि महामन्त्रीद्वयले जिम्मेवारी पूरा गर्न नसकेको बताउनुभयो।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको विधानले कुनै पनि प्रकृतिको अधिवेशन वा महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै दिएको छ। केन्द्रीय समितिबाहेक कुनै पनि पदाधिकारीलाई यस्तो अधिकार छैन।”

खड्काले नियमित महाधिवेशन गत मङ्सिरमा हुन नसकेपछि आगामी वैशाखमा गर्ने निर्णय गरिएको जानकारी दिँदै गत पुस १५ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्